रंगेली, ८ जेठ । मोरङको रंगेली नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा (एमाले) ले ऐतिहाँसिक जित निकालेको छ । नेपाली कांग्रेसको ‘गढ’ का रुपमा चिनिँदै आएको रंगेली नगरपालिकामा पहिलो पटक एमाले विजयी भएको हो । आइतबार सँझ सम्पन्न अन्तिम मतपरिणाम अनुसार रंगेली नगरपालिकाको मेयर, उपमेयर र ९ वटै वडाको वडाध्यक्ष एमालेले जितेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले रंगेलीले सार्बजनिक गरेको अन्तिम मतपरिणाम अनुसार एमालेका दिपिल बगडीया फराकिलो मतान्तरले विजयी भएका छन् ।
बगडीयाले १२ हजार ८ सय ६१ मत प्राप्त गर्दा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका मोदराज घिमिरेले ९०६१ मत प्राप्त गरे । बगडीया र घिमिरेको मतान्तर ३८०० छ । बगडीया निवर्तमान मेयरसमेत हुन् ।
त्यस्तै उपमेयरमा एमालेकै भूमा पराजुली ११ हजार ७ सय ९० मतसहित निर्वाचित भइन् । उनका निकटतम प्रतिद्वन्दी गठबन्धनको तर्फबाट साझा उम्मेदवार जसपाका पन्नालाल मण्डलले ५१७५ मत मात्र प्राप्त गरे । पराजुलीले मण्डललाई ६६१५ मतान्तरले पराजित गरिन् ।
रंगेलीका ९ ववडा मध्ये सवै वडामा पनि एमाले विजयी भएको छ । ६ नम्बर वडाको एउटा वडा सदस्य जसपाले जितेपनि अन्य सवै वडमा एमालेका उम्मेदवार प्यानलसहित निर्वाचित भएका हुन् ।
नव निर्वाचित मेयर, उपमेयर, वडाध्यक्ष तथा सदस्यहरुलाई प्रमाणपत्रसमेत वितरण गरिएको छ । मुख्य निर्वाचन अधिकृत रामहरी शर्मा काफ्लेले निर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण गरेका हुन् ।
प्रमाणपत्र ग्रहण गर्दै नवनिर्वाचित मेयर दिलिप बगडीयाले शान्तिपूर्ण, भयरहित वातावरण र निश्पक्षरुपमा निर्वाचन सम्पन्न गराउन भूमिका खेल्ने निर्वाचन अधिकृतको कार्यालय, स्थानीय प्रहरी,प्रशासन सवैलाई धन्यवाद ज्ञापन गरे ।
प्रकाशित मिति: २०२२-०५-२२ , समय : २१:१५:४४ , ३ वर्ष अगाडि