एसियाली खेलकुद

विराटनगरको मानव सेवा आश्रममा मनोरोग र आँखा जाँच शिविर सम्पन्न

रंगेली संवाददाता

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा विराटनगरस्थित मानव सेवा आश्रममा निःशुल्क मनोरोग र आँखा जाँच शिविर सम्पन्न भएको छ । ज्येष्ठ नागरिक दिवसको अवसरमा क्लबले तीन टालीयास्थित आश्रममा आश्रित ज्येष्ठ नागरिकहरुका लागि निःशुल्क मनोरोग र आँखा जाँच शिविर आयोजना गरेको हो ।

विराट मेडिकल कलेज शिक्षण अस्पतालसँगको सहकार्यमा मानवसेवा आश्रममा मनोरोग तथा आँखा जाँच शिविर आयोजना गरिएको थियो । शिविरबाट ८० जना भन्दा बढी लाभान्ति भएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष मञ्जु अग्रवालले जानकारी दिइन् ।

शिविरमा अप्थाल्मोलोजिष्ट डा. शोभा भण्डारी, सन्तोषकुमार यादव र मनोरोग विशेषज्ञ डा.शिर्षक दिप श्रेष्ठसहितका टिमले जाँच गरेको थियो । सो अवसरमा आश्रममा आश्रित ज्येष्ठ नागरिक र शिविरमा विशेषज्ञहरुको टोलीलाई खाना समेत खुवाइएको थियो । कार्यक्रममा क्लबका पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको थियो ।

 

प्रकाशित मिति: २०२४-०८-२५ , समय : १३:२९:५० , ४ महिना अगाडि