एसियाली खेलकुद

महिला र बालबालिकाहरूका लागि निःशुल्क स्वास्थ्य शिविर

रंगेली संवाददाता

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले महिला र बालबालिकाहरूका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । क्लबले हरेक महिनामा सञ्चालन गर्ने “रोटरी आरोग्य मिशन” प्रोजेक्ट अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।

बुढीगंगा गाउपालिकाको बौराहास्थित मधुग्राम देवता आधारभूत विद्यालयमा विराट नर्सिङ होम प्रा.लि.को सहकार्यमा शिविर सम्पन्न भएको छ । शिविरमा विशेषज्ञ चिकित्सकहरूको पाँच सदस्यीय टोली, सात जना पारामेडिक्स तथा अन्य स्वास्थ्यकर्मीहरूले विरामीहरूको जाँच गरे।

चिकित्सकहरूको टोलीमा दुई जना नेत्र रोग विशेषज्ञ, दुई जना स्त्रीरोग विशेषज्ञ र एक बाल रोग विशेषज्ञ रहेका थिए । साथै, शिविरमा बिरामीहरूको रोग पहिचान गरी निःशुल्क औषधि समेत वितरण गरिएको थियो । बालबालिकाहरूलाई खाजा स्वरूप बिस्कुट पनि प्रदान गरिएको थियो।

शिविरबाट १ सय १० जना बालबालिकासहित १ सय ४० जना लाभान्वित भएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष मञ्जु अग्रवालले जानकारी दिइन् ।

प्रकाशित मिति: २०२५-०३-१० , समय : ११:२६:५८ , २ दिन अगाडि